राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको संक्षिप्त परिचय
सबै मानवको जन्मजात नैसर्गिक रुपमा प्राप्त गर्ने आधारभूत अधिकार र स्वतन्त्रता नै मानव अधिकार हो। यसको सम्मान, संरक्षण र परिपुर्ती गर्नु राज्यको दायित्व हो। राज्यको उक्त दायित्व निर्वाह गर्ने सम्बन्धमा सरकारले निर्वाह गरेको भुमिकाको अनुगमन एवं अनुसन्धान गर्नु राष्ट्रिय मानव अधिकार आयोगको कर्तव्य हो। प्रभावकारी संरक्षण, संम्बद्धन एवं परिपुर्तीका लागि आवश्यक सिफारिस गर्नु आयोगको काम हो। आयोगले आफनो काम, कर्तव्य निर्वाह गर्नका लागि पहुँच विस्तार गर्ने क्रममा केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र प्रदेश शाखा कार्यालयको स्थापना गरी कार्य गर्दै आईरहेको छ।आयोगको केन्द्रिय कार्यालय, सात वटा प्रदेश कार्यालयहरु, तीन वटा प्रदेश शाखा कार्यालय गरी कूल ११ वटा कार्यालयहरु मध्ये कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला नेपालको अति दुर्गममा अवस्थित कार्यालय हो।
आयोगले आफनो काम कर्तव्य, अधिकार प्रभावकारी रुपमा परिपालना गर्नका लागि पहुँच विस्तार गर्ने क्रममा जुम्ला जिल्लामा वि.स.२०६२ साल फागुन ११ गते सम्पर्क कार्यालयको स्थापना गरेको थियो। सम्पर्क कार्यालयको स्थापना पश्चात वि.स.२०६६ साल कार्तिक २७ गते उपक्षेत्रिय कार्यालयको रुपमा स्थापना भई कार्य गर्दै आईरहेको थियो। मुलुक संघीयतामा गए पश्चात उक्त कार्यालय कर्णाली प्रदेश शाखा कार्यालयका रुपमा कार्य गर्दै आएको छ। यसको कार्यक्षेत्र जुम्ला र मुगु रहेको रहेको छ। स्थानीय तह संरचना अनुसार जुम्ला जिल्लामा १) चन्दननाथ न.पा., २) पातारासी गा.पा., ३) गुठीचौर गा.पा., ४) तातोपानी गा.पा. ५) तिला गा.पा., ६) हिमा गा.पा. ७) सिँजा गा.पा. र ८) कनकासुन्दरी गा.पा. पर्दछ भने मुगु जिल्लामा १) खत्याड गाउँपालिका, २) सोरु गाउँपालिका, ३) छायाँनाथ रारा न.पा र ४) मुगुम कार्मारोंग गाउँपालिका पर्दछ।
कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण भएता पनि भौगोलिक विकटता प्रमुख चुनैतीको रुपमा रहेको छ। विकासका हरेक आयाममा पछाडि रहेको छ। यस अयोगको कार्यक्षेत्र भित्र गरिवी, अशिक्षा, स्वास्थ्य समस्या, समाजका हानीकारक प्रथा अभ्यास, महिला हिसां, बाल विबाह, बहुविवाह लगायतका समस्याहरुका कारण अपेक्षित रुपमा आर्थिक, सामाजिक रुपान्तरण हुन सकेको छैन। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विकास सहयोगी निकायहरु र गैरसरकारी निकायहरुले विकासका कार्य गरिरहेता पनि सोचे जस्ते प्रगति हासिल हुन सकेको छैन। बर्षातको समयमा राजमार्ग हिलाम्य हुने, कच्ची सडक, भरपर्दो, सुलभ र सहज रुपमा यातायातको व्यवस्था नुहुनु । हवाई यातायात पनि पर्याप्त र सहज र सुलभ नहुनु, जाडो मैसममा अत्याधिक चिसोका कारण हिउ पर्ने हुँदा जनजीवन प्रभावित हुनुका साथै दैनिक कामकाजमा समेत कठिनाई भोग्नु पर्ने अवस्था रहेको छ।कार्यालयमा सीमित मानवीय तथा भोतिक श्रोत साधनका कमि साथै यातायातका साधनको सुविधा नभएका कारण हरेक स्थानमा भाडाका गाडी र पैदल हिडि समयमै जिम्मेवारी निर्वाह गर्ने कार्यका लागि चुनैती रहेको छ।